बैशाख २८, २०८३ , Khotang
–-----तीर्थराज भट्टराई
“योगश्चित्तवृत्तिनिरोधः”(योगसूत्र) अर्थात् योग भनेको चित्तका चञ्चल वृत्तिहरूलाई रोक्नु हो । राजयोगले मनलाई शान्त, स्थिर र एकाग्र बनाउँछ । यसबाट आत्मिक शान्ति, विवेक र सही निर्णय गर्ने क्षमता विकास हुन्छ । मानिस बाहिरबाट जति सम्पन्न देखिए पनि आत्मा शान्ति भएन भने जीवन अधुरो बन्छ । आजको समाज यस्तै अदृश्य अशान्तिको पीडाबाट गुज्रिरहेको छ । प्रविधिको विकाससँगै चेतना बढ्नुपर्ने हो तर दुर्भाग्यवश नकारात्मक सोच, तनाव, कुलत, सामाजिक विकृति र आत्मिक शून्यता झन् फैलिरहेको अनुभव हुन्छ । मैले आत्मालाई साक्षी राखेर भन्नुपर्छ – नगरप्रमुख हुँदाहुँदै म पनि यो भावबाट पूर्णतः बाहिर निस्किन सकेको छैन । मानिसको जीवनमा नकारात्मक सोच कुनै न कुनै रूपमा वृक्षझैँ गाँजिएको देखिन्छ ।
यही समाजबाट हुर्किएको व्यक्ति भएकाले म पनि नकारात्मक सोचको भूमरीमा फसिरहेको विषय स्वीकार्दा मलाई आत्मग्लानि छैन । अझ आत्मसाक्षी राखेर भन्दा मेरा मात्रात्मक कुलत र कमजोरी सुधार्नुपर्छ । आत्मा समिक्षा गरेर यसको सुरुवात म जस्तै समाजका अगुवा स्वयंबाट गरिनु समाज सुधारको आधारस्तम्भ बन्नेछ । तीन दिने निःशुल्क राजयोग ध्यान शिविरमा बसेपछि म यसको लागि अझ पूर्ण तयार भएको छु ।खोटाङको दिक्तेल बजारस्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा आयोजित शिविरले मेरो जीवनमा एक विशेष सकारात्मक उर्जाको अनुभूति गरायो ।
२०८३ वैशाख २६ गते शनिबारदेखि सुरु भएको उक्त शिविरमा मोरङ निवासी योगगुरु अर्जुन थपलिया सहित पाँच जना साधकको टोली आउनु भएको थियो । समय व्यवस्थापन गरेर तीन दिन शिविरमा सहभागी भएँ । मसँग विगतमा पनि विभिन्न योग, ध्यान र आध्यात्मिक सत्सङ्गमा बसेको अनुभव थियो । तर यस पटकको शिविरले केही फरक अनुभूति, गहिरो चिन्तन र अझ उज्यालो चेतनाको भाव प्रदान ग¥यो । ध्यानमार्फत आत्माको गहिराइलाई स्पर्श गर्न सकिने रहेछ भन्ने अनुभूति अझ प्रगाढ बन्यो ।
चेतनाको उज्यालो
शिविरका मुख्य प्रशिक्षक योगगुरु अर्जुन थपलियाको व्यक्तित्व नै प्रेरणादायी थियो । सेतो वस्त्र, ढाका टोपी, सहज मुस्कान र सरल अभिव्यक्तिले सहभागीहरूलाई प्रारम्भमै आकर्षित गथ्र्यो । उहाँले आध्यात्मिक र राजयोग ज्ञानलाई सरल दर्शनका रूपमा गाउँघरका व्यवहारिक उदाहरणमार्फत प्रस्तुत गर्नुभयो । त्यसले राजयोगको महत्त्व, आत्मा, शान्तिको मार्ग र चेतनासम्बन्धी विषय बुझ्न सजिलो भयो । जीवन, आत्मा, कर्म, सकारात्मक ऊर्जा र मानसिक शुद्धीकरणका विषयहरू सरल तर प्रभावकारी ढंगले राख्नुभयो कि सुन्ने प्रत्येक व्यक्ति आफैंभित्र डुब्न बाध्य हुन्थ्यो । मैले विभिन्न विद्वत् सम्मेलन, धार्मिक सभा तथा युवावस्थामा भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरमा बस्दा धेरै प्रवचन सुनेको थिएँ । तर यस शिविरको मौलिकता, रैथाने उदाहरण र सहज शैलीले मनको गहिराइमा नयाँ प्रकाश भरिदियो । मेरा अन्तर्मनका अँध्यारा कुनाहरूमा उज्यालोको ढोका खुलेझैँ अनुभूति गरेँ ।
म अहिले पनि दैनिक ३ः३० बजे उठेर योग, ध्यान, जप र आध्यात्मिक चिन्तन गर्ने मानिस हुँ । सकारात्मक दृष्टिकोण राख्नुपर्छ भन्ने मान्यता पनि छ । तर यति हुँदाहुँदै पनि यो तीन दिने राजयोग ध्यान शिविर मेरो जीवनका लागि अत्यन्त प्रभावकारी र स्मरणीय बन्यो । विज्ञ इन्जिनियरले बनाएको खुकुरीमा धार लगाएझैँ मनमा रहेका अन्तरकुन्तरका कुण्ठा र फोहोर मैलो शुद्ध गर्ने ठूलो अवसर मिल्यो । यसका लागि व्यवस्थापक र राजयोगगुरु अर्जुन थपलियाप्रति हार्दिक सम्मानसहित धन्यवाद दिन चाहन्छु ।
सायद उमेर ढल्कँदै जानु, आत्माको खोज अझ तीव्र हुनु, नगरको जिम्मेवारी, सामाजिक दबाब र तनावपूर्ण परिस्थितिका कारण पनि होला । यो शिविरले मेरो मनमा अनुपम शान्ति र आत्मिक ऊर्जा भरिदियो । तीन दिनको साधनापछि प्राप्त मानसिक स्पष्टता र सकारात्मक सोच मेरो लागि अझै खोज र अनुभूतिको विषय बनेको छ ।
समाज र चेतना
शिविरमा प्रमुख जिल्ला अधिकारी रेखा कण्डेल , जिल्ला समन्वय अधिकारी अनुनय वाँस्तोला, प्रहरी नायब उपरीक्षक प्रकाश वुढाथोकी, जिल्ला मालपोत कार्यालयका प्रमुख ध्रुव कार्की, नगरपालिका आलेप अधिकृत मोहन भट्टराई , जीवन विज्ञानका प्रमुख प्रशिक्षक शान्ता आचार्य लगायत प्रशासनिक क्षेत्रका विशिष्ठ व्यक्तित्वहरूको सक्रिय उपस्थिति प्रेरणादायी थियो । राज्यका जिम्मेवार व्यक्तिहरूमा राजयोग, ध्यान र आध्यात्मिक चेतनाप्रतिको रुचि तथा सम्मान देखिनु सकारात्मक संकेत हो ।
विगतदेखि नै ब्रह्मकुमारी राजयोग सेवा , दिक्तेलमा नियमित बसोबास गर्दै आउनुभएकी कुमारी मञ्जु दिदीको त्याग र सेवाभाव अत्यन्त सम्मानयोग्य छ । स्थानीय राजन आचार्य, कमल आचार्य, चन्द्रकला गजमेर, प्रकाश गजमेर, कमला ढुंगाना, चन्द्रकुमारी राई, कर्णकुमार वजिमय लगायतको दिनहुँको सेवा र समर्पणभाव पनि प्रशंसनीय छ । तीन दिनसम्म बिहानैदेखि नियमित योगध्यानका लागि आउने ४०–५० जना साधकहरूको मर्यादा, अनुशासन र श्रद्धाले वातावरणलाई अझ पवित्र बनाइरहेको थियो । आज हाम्रो समाजमा कुलत र दुव्र्यसनको महामारी फैलिरहेको छ । चुरोट, खैनी, गुट्खा, मदिरा र आयातित संस्कृतिको प्रभावले युवापुस्ता दिशाहीन बन्दै गएको पीडा सर्वत्र सुनिन्छ । अझ किराँत क्षेत्रमा कोदोको जाँड र रक्सी सांस्कृतिक पहिचानसँग जोडिएको विषय पनि हो । संस्कृति र दुरुपयोग बीचको सीमा हराउँदा सामाजिक सद्भावमा नकारात्मक असर परेको देखिन्छ ।
“नयाँ जोगीले धेरै खरानी धस्छन् “ भनेझैँ आज केही ब्राह्मण– क्षेत्री समुदायमा समेत जाँड–रक्सीको अत्यधिक दुरुपयोगले विकृत वातावरण सिर्जना गरेको यथार्थ घामझैँ छर्लङ्ग देखिन्छ । संस्कृतिको नाममा अरू समुदायबाट बढ्दो दुरुपयोगले समाजलाई नै कमजोर बनाइरहेको हो कि जस्तो लाग्छ । यस्ता विकृतिबाट समाजलाई जोगाउन बाह्य नियन्त्रण मात्र होइन भित्री चेतनाको जागरण पनि आवश्यक छ । राजयोग ध्यानले मानिसलाई आत्मा चिन्न, मनलाई शुद्ध बनाउन र सकारात्मक सोचतर्फ उन्मुख गराउन मद्दत गर्छ भन्ने मेरो निष्कर्ष हो ।
मनको प्रदूषण अहिले सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा मर्यादाहीन भाषा, आरोप र घृणाको प्रवृत्ति बढिरहेको छ । अभिव्यक्तिको स्वतन्त्रताको नाममा मानिसहरूले शब्दमार्फत विष ओकलिरहेको देखिन्छ । हेर्दा बाहिर सफा, पढेलेखेको, विद्वान, धनाढ्य र समाजको अगुवा कहलाउँछ तर सामाजिक सञ्जालमा विषवमन गरेको देखिन्छ । त्यो सकारात्मक ऊर्जालाई नकारात्मक ऊर्जाले जितेर भएको हो । त्यस्ता व्यक्तिले नकारात्मक सोचले केवल व्यक्ति मात्र होइन परिवार र समाजलाई पनि दूषित बनाउँछ भन्ने हेक्का राख्न आवश्यक छ । हामीले यस्तै राजयोग, ध्यान र चिन्तनबाट सकारात्मक मार्गमा ल्याउन सक्छौँ । नगर प्रमुखको हैसियतले यो मेरो जिम्मेवारी र कर्तव्य पनि हो भन्ने महसुस गरेको छु ।
हाम्रो पूर्वीय दर्शनले भन्छ– “मन शुद्ध भए संसार शुद्ध हुन्छ ।” जब मानिसको चेतनामा रिस, घृणा, ईष्र्या र आरोपको विष भरिन्छ । त्यसको असर सन्तति र समाजमा पनि पर्छ । यही कारण आज मानिससँग पद, प्रतिष्ठा, धन, सम्पत्ति र शक्ति भए पनि आत्मामा शान्ति छैन । कतिपय मानिस बाहिरबाट सफल देखिए पनि भित्रभित्रै अशान्ति र रिक्तताले जलिरहेका छन् । शान्ति खोज्न मानिस मठ, मन्दिर, चर्च, मस्जिद र गुरुद्वारातिर दौडिरहेको छ । वास्तविक शान्ति अन्तर्मनमै खोज्नुपर्ने रहेछ । यस्तो छटपटी र अशान्तिको समयमा राजयोग शिविर, सत्सङ्ग र आध्यात्मिक चिन्तन अचुक औषधि बन्न सक्छन् भन्ने निष्कर्षमा म पुगेको छु । यो मेरो व्यक्तिगत अनुभूति र आत्मस्वीकारोक्ति हो । मैले यो तीन दिने शिविरबाट बुझेको मूल शिक्षा यही हो । हरेक आत्मा स्वभावतः सकारात्मक हुन्छ । आत्मामा भरिएको नकारात्मकता बाहिरबाट पोतिएको कालो धब्बा मात्र हो । राजयोग, ध्यान र सत्सङ्गले त्यो कालोपन विस्तारै पखाल्दै लैजान्छ । यसका लागि छोटो समय व्यवस्थापन गरेर नित्य साधना, सकारात्मक सोच र सत्कर्म भावना जागृत गर्न आवश्यक हुन्छ ।
प्रकृति र मानवता
मानिस र प्रकृतिको सम्बन्ध केवल उपयोगको होइन चेतनाको पनि हो । मानिसको मन अशान्त भयो भने उसले प्रकृतिप्रति पनि हिंसात्मक व्यवहार गर्छ । वन विनाश, आगजनी, वातावरण प्रदूषण, जलस्रोतको दोहन र जैविक असन्तुलनको मूलमा मानवीय लोभ र असन्तुष्टि नै मुख्य कारण देखिन्छ । राजयोग ध्यानले मानिसलाई व्यक्तिगत शान्ति दिन्छ । प्रकृतिप्रति जिम्मेवार चेतना बढाउनेछ । सकारात्मक सोच भएका मानिसले वातावरण, जैविक विविधता र सामाजिक सद्भावलाई सम्मान गर्छन् । यही कारण यस्ता शिविरहरू केवल आध्यात्मिक र सांस्कृतिक कार्यक्रम नभई सामाजिक, वातावरणीय र मानवीय चेतनाका अभियान पनि बन्छन् । शिविरका लागि शिविर नभई समाज र पर्यावरण सुधारको अचुक औषधिका रूपमा रूपान्तरण गर्न सक्नुपर्छ । कसैले पनि आध्यात्मिकताको नाममा सामाजिक सद्भाव भड्काउने वा धार्मिक गतिविधी गर्नु पूर्णतः निषेध हुन्छ । यस्ता दुस्प्रयत्न अस्वीकार्य र कानुनविपरीत हुन् भन्नेमा सबै पक्ष सचेत रहन आवश्यक देखिन्छ ।
अन्तिम अनुभूति
वैशाख २६ गते शनिबारदेखि सुरु भएको तीन दिने राजयोग ध्यान शिविर मेरो जीवनका उत्कृष्ट अनुभवहरूमध्ये एक बन्यो । यसले केवल शान्ति मात्र दिंदैन व्यक्तिगत जीवन र समाज रूपान्तरणप्रतिको नयाँ दृष्टिकोण प्रष्फुटन गर्छ । मैले यस राजयोग ध्यान शिविरबाट व्यक्तिगत अनुभूति, स्वआत्मजागरण र जीवनबोधको निष्कर्ष निकालेको छु । मेरो विचारमा जनप्रतिनिधि, राजनीतिक नेतृत्व र समाजका अगुवाहरूले पनि यस्ता राजयोग ध्यान शिविरमा सहभागी हुन आवश्यक छ । सकारात्मक सोच, नैतिक चरित्र, अनुशासन र आत्मिक शिक्षालाई विद्यालय तहसम्म विस्तार गर्न सकियो भने समाजमा सकारात्मक परिवर्तन सम्भव छ ।
नैतिक आचरण,आध्यात्म चिन्तन , योग ध्यान र प्राकृतिक शिक्षा दिने संस्थाहरूले विश्वभर फैलाइरहेको शान्ति, सद्भाव र आत्मपरिवर्तनको सन्देश अनुकरणीय छ । शान्ति केवल बाहिरी अभिवादन होइन मानव अन्तरआत्माको मौलिक स्वर हो । भविष्यमा नगरपालिका र यस्ता आध्यात्मिक संस्थाबीच सहकार्य गरेर सकारात्मक ऊर्जा, नैतिक शिक्षा र मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सकियो भने समाजलाई अझ उज्यालो दिशातर्फ लैजान सकिन्छ भन्ने विश्वास मैले यस शिविरबाट प्राप्त गरें ।
अन्ततः मानिसको वास्तविक विजय बाहिरी संसार जित्नुमा होइन आफ्नै मन जित्नुमा रहेछ । तीन दिने शिविरबाट फर्कँदा मैले संसार बद्लिएको होइन आफ्नै मन बदलिन थालेको अनुभूति गरेको छु । अहिले मन शान्त, सकारत्मक दृष्टि र भविष्यप्रति आशा तथा विश्वास अझ बढेर गएकोछ । अन्तरमनमा सकारात्मक ऊर्जाले अझ दर्बिलो जरा गाड्योभने आत्मचिन्तनको प्रभावले शान्तिको खोजीमा भड्किरहनु पर्दैन ।
योगगुरु अर्जुन थपलियालगायत सम्पूर्ण प्रशिक्षक मण्डली र व्यवस्थापक ब्रह्मकुमारी राजयोग ध्यान शिविर,दिक्तेलप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
(स्तम्भकार–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुख हुन् । )
हलेसीन्युजडेस्क,खोटाङ । जेष्ठ ३१, शनिवार / महुली लघुवित्त वित्तीय संस्था...
हलेसीन्युजडेस्क,खोटाङ/ जेठ २५, सोमवार । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४...
हलेसीन्युजडेस्क, खोटाङ / जेष्ठ १६, शनिवार । नेपाली कांग्रेसले देशव्यापि...
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख २१, सोमवार /सुनसरीको तरहरामा आयोजित दोस्रो...
हलेसीन्युजडेस्क, खोटाङ । वैशाख ११, शुक्रवार / खोटाङ जिल्लाको दिक्तेल...
----सुमित्रा थामी ‘अविरल’ सीमाना पारि उभिएर मेरो आँखामा दार्जिलिङ कुहिरोले...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान